आत्महत्या रोकथाम सहजिकरण कार्यक्रम सम्पन्न : पोखरा

हाल विश्वमा आत्महत्याका घटनाहरु अत्याधिक मात्रामा बढीरहेका छन् । नेपालमा पनि आत्महत्या डरलाग्दो ढंगवाट मृत्युको प्रमुख कारणका रुपमा देखापर्दै गईरहेको छ । यसको रोकथामका लागि पोखरामा पनि २ दिने सहजिकरण कार्यक्रम सम्पन्न भएको छ ।

४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा र मनोविज्ञान सम्प्रदाय नेपालको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त आत्महत्या रोकथाम सहजिकरण कार्यक्रम यही अश्विन ०९ गते ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक पुष्प चन्द्र रञ्जितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त तालिममा सहभागि प्रहरी अधिकृतहरुलाई प्रमाण-पत्र प्रदान गरी सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक रञ्जितले आत्महत्या समाजमा दिन प्रति दिन विकराल हुँदै गईरहेकाले नागरिकका समस्याको समाधानमा प्रहरी नै पहिलो सहजकर्ता भएको हुँदा यसको रोकथाममा प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी आयोजना गरिएको उक्त सहजिकरण कार्यक्रममा मनोविज्ञान सम्प्रदाय नेपालका प्रमुख डा. नरेन्द्र सिंह ठगुन्ना र ज्योत्सना डाँगीले आत्महत्या रोकथाम, आत्महत्या पूर्व देखा पर्ने लक्षण, आत्महत्याका परिणाम, आत्महत्या सम्बन्धी महत्वपूर्ण तथ्याङकहरु साथै यसको रोकथामका उपायहरु लगयातका विषयमा उपस्थित सहभागिहरुमा सहजिकरण गर्नु भएको थियो ।

उक्त सहजिकरण कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुमा कार्यरत २६ जना सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।