शान्तिसुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन अभियानको सुरु : पोखरा

कानुनको पालना जनताको जिउ धनको सुरक्षा र जन-उत्तरदायित्वमा प्रहरी र प्रशासनको वृहत्तर उपस्थिति गराई नागरिकसंग प्रहरी र प्रशासनको सम्बन्धलाई थप प्रभावकारी गराउने गृह मन्त्रालयको अवधारणा अनुरुप “शान्तिसुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन हाम्रो अभियान” भन्ने मुल नाराका साथ देश भरी नै यही असोज ६ गते एक विषेश अभियानको सुरुवात भएको छ ।

कास्कीमा पनि उक्त अभियानको शुभारम्भको अवसर पारी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा  एक वृहत प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । पोखराको सिर्जनाचोक देखि सुरु भएको उक्त प्रभातफेरी जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा गई सभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नागरिक केन्द्रीत सुरक्षा प्रणालीको स्थापना गर्ने, प्रहरी र स्थानिय नागरिकको सम्बन्धलाई सुमधुर पार्ने साथै शहरी तथा ग्रामिण क्षेत्र र हरेक टोलहरुमा प्रहरीको उपस्थिति बढाई शान्तिसुरक्षा कायम गर्ने उद्देश्यका साथ उक्त अभियानको कास्की जिल्लामा पनि शुभारम्भ भएको घोषणा गर्नु भएको छ ।

साथै लागू भएको उक्त अभियान अन्तर्गत गरिने आगामि कार्यक्रमको बारेमा जानकारी गाराउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले टोलसुधार र सामाजिक संस्थाहरुलाई शान्ति सुरक्षाको कार्यमा प्रत्यक्ष सहभागि गराई आपसी सहयोग तथा प्रहरीसंग भाईचाराको सम्बन्ध विस्तार गर्न विविध कार्यहरु गरिने र समाजमा भईरहेका अवाञ्छित क्रियाकलापहरुको निगरानी गर्ने कार्यमा जनतालाई बढी जागरुप गराउने लगायतका क्रियाकलापहरु गरिने बताउदै उक्त अभियानको सफलताको लागि सबै सरोकारवाला निकायहरुको सहयोगको अपिल समेत गर्नु भएको छ ।

विभिन्न सरकारी कायालयका कर्मचारीहरु, स्थानिय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी सेवा केन्द्र, आमा समुह, युवा क्लबका प्रतिनिधिहरु, मानवअधिकारकर्मि, नागरिक समाज, पत्रकार लगायतको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

Ashwin06 2  

Ashwin06 1