प्रदेश प्रहरी प्रमुख बमद्वारा स्याङजा निरीक्षण

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कमल सिंह बमले ४ नं. प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा यही भाद्र २२ गते जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, अनुशासन, व्यावसायिक प्रहरी कार्यसम्पादन, अपराध अनुसन्धान र नियन्त्रण लगायतका समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहतका वडा प्रहरी कार्यालय वालिङ लगयातका कार्यालयहरुमा विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरिक्षण गर्नुभएको छ ।

निरीक्षण तथा अवलोकनका क्रममा विभिन्न प्रहरी कार्यालयमा पुग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक बमलाई उक्त कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्य क्षेत्र भित्रको भौगोलिक सामाजिक अवस्था, विविध अपराधको अवस्था, प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था लगयातका विषय समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

सोही क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बमले  चाडपर्वहरु नजिकिरहेको अवस्थामा अपराधजन्य गतिविधि बढ्न सक्ने हुँदा यसको नियन्त्रणको लागि विशेष सुरक्षा कार्ययोजना बनाई प्रहरी परिचालन गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न गराउन निर्देशन दिनुभएको छ ।